गण्डकी प्रदेश सरकार
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय
स्वास्थ्य निर्देशनालय

स्वास्थ्य कार्यालय

बागलुङ

७१ औं कुष्ठरोग दिवस बागलुङमा मनाईयो



७१ औं विश्व कुष्ठरोग दिवस आईतबार बागलुङमा पनि विभिन्न सचेतनामुलक कार्यक्रम संचालन गरी मनाईएको छ । जिल्लाका विभिन्न स्थानिय तहको आयोजना, स्वास्थ्य कार्यालय बागलुङको संयोजन र फेयरमेड विवाईसी बागलुङको सहयोगमा कुष्ठरोग सम्बन्धी खोजपड्ताल शिविर, जनप्रतिनिधि सँग अन्तरक्रिया, विद्यालय शिक्षा र अन्य सचेतना मुलक कार्यक्रम संचालन गरी दिवस मनाईएको हो ।

“कुष्ठरोग सम्बन्धी गलत धारणाको अन्त्य गरौं, मर्यादित व्यवहार गरौं” भन्ने मुल नाराका साथ दिवस मनाईएको हो । दिवसको अवसरमा जिल्लाको जैमिनी नगरपालिका—८ छिस्तीमा खोज पड्ताल शिविर शिविरको संचालन गरिएको थियो । शिविर उद्घाटन कार्यक्रममा बोल्दै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले कुनै पनि रोग लाग्न भन्दा यसबाट कसरी जोगिने भन्नेमा सवैले सचेत हुनुपर्ने बताए । उनले कुष्ठरोग निवारणका निम्ती नगरपालिकाले हरेक क्षेत्रमा यस्ता खोजपड्ताल शिविर संचालन गर्ने बताए ।

कार्यक्रममा फेयरमेडका जिल्ला संयोजक राजेन्द्र रुचालले कुष्ठरोग लाग्नबाट जोगिने उपायका बारेमा आम सर्वसाधारणलाई जानकारी गराएका थिए । शिविरमा १३४ जनाले स्वास्थ्य जाँच गरेका थिए । जसमा ११९ जना छाला सम्बन्धी स्वास्थ्य समस्या रहेका विरामीले स्वास्थ्य जाँच गरेको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरिक्षक अधिकृत देवप्रकाश घिमिरेले जानकारी दिए । शिविरमा धौलागिरी अस्पतालका छाला रोग विशेषज्ञ डा. प्रभात सिंह राजपुतले विरामीको स्वास्थ्य जाँच गरेका थिए ।

दिवसकै अवसरमा जिल्लामा विभिन्न स्वास्थ्य संस्थाले विद्यालय शिक्षाका कार्यक्रम संचालन गरेका छन भने गलकोट नगरपालिकाले जनप्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालन गरेको घिमिरेले जानकारी दिए ।

जिल्लामा अघिल्लो आर्थिक वर्षमा १२ जना कुष्ठरोगका विरामी थिए भने यस वर्षको ६ महिनाको अवधीमा ३ जना नयाँ विरामी भेटिएको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य प्रशासक बाबुराम आचार्यले जानकारी दिए । यस वर्ष भेटिएका विरामी बागलुङ नगरपालिका र ढोरपाटन नगरपालिकाका रहेका छन । कुष्ठरोग लागेपछि ६ महिना देखी १ वर्ष सम्म नियमित औषधी सेवन गरे यसको निको हुनेछ । स्वास्थ्य कार्यालयले जिल्लामा कुष्ठरोगका विरामी पत्ता लगाउनका निम्ती सवै स्थानिय तहमा खोजपड्ताल अभियान संचालन गर्ने जनाएको छ ।

कुष्ठरोग आँखाले देख्न नसकिने ‘माइकोव्याक्टेरियम लेप्रे’ नामक सुक्ष्म कीटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो । उपचार नगरेको कुष्ठरोग बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई मुख्यतः श्वासप्रश्वासको माध्यामबाट यो रोग सर्ने गरेको पाइन्छ । यो रोग संक्रमणको सुरुको अवस्थामा रोगको निदान र उपचार गरेमा यो रोग अरुलाई नसर्ने र अपाङ्गता हुनबाट जोगाउने जनस्वास्थ्य प्रशासक आचार्य बताउँछन ।

स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा देशभर दुई हजार पाँच सय २२ जना कुष्ठरोगका नयाँ बिरामी फेला पारेको छ । कुष्ठरोगका नयाँ बिरामीमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा रहेका छन् । मधेस प्रदेशमा कुल बिरामीको ३७ प्रतिशत अर्थात् नौ सय ४४ बिरामी रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा पाँच सय ६५, कोशी प्रदेशमा चार सय ७१, सुदूरपश्चिम प्रदेशमा दुई सय ३०, बागमती प्रदेशमा एक सय २०, गण्डकी प्रदेशमा एक सय १९ र कर्णाली प्रदेशमा ७३ जना कुष्ठरोगका बिरामी रहेको तथ्याङ्क रहेको छ ।

Download: ७१ औं कुष्ठरोग दिवस बागलुङमा मनाईयो