विश्व क्षयरोग दिवस २०२३ (24 March 2023) बागलुङमा विभिन्न कार्यक्रम गरेर मनाइएको छ। जिल्लामा क्षयरोग सम्बन्धि बिशेष कार्यक्रमहरु सम्पन्न भएको छ । बडिगाड स्वास्थ्य शाखा र स्वास्थ्य कार्यालय बागलुङको सयुक्त आयोजनामा बिश्व क्षयरोग दिवसको अवसरमा हामी क्षयरोग अन्त्य गर्छौ "Yes we can end TB " भन्ने मुल नाराका साथ बडिगाड गाउँपालिका र सरोकारवाला निकायहरुको उपस्थितिमा कार्यक्र सम्पन्न भएको हो । उक्त कार्यक्रमको अवसरमा क्षयरोग सम्बन्धि बिभिन्न जानकरी एवं पम्प्लेट बोकी खार हुँदै खौलार बजार सम्म र्याली लगाईएको थियो । साथै कार्यक्रममा बडिगाड गाउँपालिकामा पछिल्लो समय क्षयरोगीको संख्या तिव्र गतिमा बढेको भन्दै वर्तमान क्षयरोगको स्थिति, क्षयरोगका लक्षण, सरकार द्वारा गरिएको उपचारको निशुल्क वयवस्था, रोगको निदान एवं रोकथामको लागि प्रत्येक व्यक्ति र समुदाय स्तरबाटै अपनाउनु पर्ने उपायको जानकारी सम्बन्धि स्वास्थ्य शिक्षा पनि प्रदान गरिएको स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट हेम पुनले जानकारी दिनुभयो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत डिल्लीप्रसाद शर्माको अध्यक्षता स्वास्थ्य शाखा बागलुङका प्रमुख प्रबिण शर्माको प्रमुख आतिथ्यता, बडिगाड स्वास्थ्य शाखाका प्रमुख बिपेन्द्र के सि को स्वागत मन्तव्य तथा हेल्थ असिस्टेन्ट डिल बहादुर के सिको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । साथै सोही अवसरमा बिभिन्न विषयमा सचेतनामुलक जानकारी सहित क्षयरोग भएका बिरामीहरुसँग स्वाथ्यकर्मीहरुको अन्तरकृया कार्यक्रम पनि गरिएको थियो । यो संगै दिवसको अवसरमा जिल्लामा सबै स्थानीय तहमा विभिन्न विध्यालयमा क्षयरोग सम्बन्धि बिद्यार्थीहरुलाई स्वास्थ्य शिक्षा प्रदान कार्यक्रम पनि सम्पन्न गरिएको थियो ।