गलकोट नगरपालिकामा सञ्चालित स्वास्थ्य संस्थाहरुको अनुगमन
गलकोट नगरपालिकामा सञ्चालित स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको छ ।
जिल्ला अनुगमन समिती र गलकोट नगरपालिकाले आज गलकोट नगरपालिकामा संयुक्त रुपमा गलकोटमा सञ्चालित सरकारी तथा निजी स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको हो ।
गलकोट नगरपालिकामा सञ्चालित गलकोट नगर अस्पताल, ईमर्जेन्सी पोलिक्लिनिक प्राईभेट लिमिटेड, आरोग्य हस्पिटल प्राईभेट लिमिटेड, सिद्ध भैरव स्वास्थ्य क्लिनिक, गलकोट आँखा उपचार केन्द्र, गलकोट अप्टिकल केन्द्र, उजिर कार्की स्वास्थ्य क्लिनिक, प्रमिला मेडिकेयर लगायतका स्वास्थ्य संस्थाहरुको अनुगमन गरिएको थियो ।
सरकारी र निजी स्वास्थ्य संस्थाहरु सञ्चालन अनुमती नविकरण तथा मापदण्ड अनुसार रहे नरहेको, संस्था दर्ता भएको छ वा छैन, अस्पताल रहेको स्थान अत्यधिक धुँवा, ध्वनी, जल तथा जमिन प्रदुषणबाट मुक्त भए नभएको, अस्पतालले प्रयोग गर्ने उपकरण तथा औजारहरु मर्मतको व्यवस्था भए नभएको, सडक यातायातको पहँुच भए नभएको, जोखिमपुर्ण फोहोर व्यवस्थापनका लागि उपयुक्त प्रविधि व्यवस्था गर्नुका साथै प्रचलित कानुन बमोजिम फोहोर व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाएको छ वा छैन, सहायक कक्ष र सेवा प्रवाह हुने स्थानहरु स्पष्ट देखिने नक्सा वा बोर्डको व्यवस्था गरेको वा नगरेको, बिरामीलाई शुद्ध पिउने पानिको व्यवस्था भए नभएको, अस्पतालमा प्रशासनिक कार्यालय, ओपीडी, प्रयोगशाला, वार्ड, फार्मेसी, क्यान्टिनको व्यवस्था भए नभएको, बिरामीको चापको अनुपातमा पर्याप्त र सुविधाजनक प्रतिक्षालयको व्यवस्था भए नभएको, अस्पताल ज्येष्ठ नागरीक, बालबालिका तथा अपाङ्गमैत्री भए नभएको, कुल अस्पताल शैया क्षमताको दश प्रतिशत शैया आकस्मिक क्षेमताको लागि छट्याएको छ वा छैन, आकस्मिक कक्षमा काम गर्ने बिरामीले तालिम लिएको छ वा छैन लगायतका पक्षहरुको बारेमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
त्यस्तै अनुगमनको क्रममा अस्पतालमा सूचना अधिकारी नभएको, स्थापना सञ्चालन सम्बन्धि कुनै कागजपत्र नभएको, औषधि व्यवस्था विभागमा दर्ता नभएको, सम्बन्धित नगरपालिकामा व्यवसाय दर्ता तथा सञ्चालन अनुमती पत्र नभएको, नागरिक बडापत्र व्यवस्था नभएको, फोहोरमैला व्यवस्थापन डब्लुएचओ अनुसार नभएको, उजुरी पेटिका नभएको, कार्य सञ्चालन निर्देशिका, विपद् व्यवस्थापन कार्ययोजना नभएको, सेवा प्रवाहका लागि ड्युटी सेन्टर बनाएर काम नगरेको, १० प्रतिशत असहाय, गरिव बिरामीलाई छुट दिने व्यवस्था नभएको, फार्मेसिष्टको व्यवस्था नभएको, सोधपुछ, सहायक कक्ष व्यवस्थापन नभएको, ड्युटी नर्स स्टेशन नभएको, कर्मचारी नियुक्ति करार सम्झौता नभएको, कर्मचारी विनियम नभएको लगायतका समस्याहरु देखा परेको स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मि शर्माले जानकारी दिनुभयो ।
त्यस्तै अनुगमनको क्रममा देखिएको समस्या स्वास्थ्य निर्देशिकाअनुसार तत्काल तिन महिना भित्रमा सबै प्रक्रिया पुरा गर्नको लागि अनुरोध गरिएको थियो । पुन अर्को पटक अनुगमनमा आउँदा समयअवधि पुरा भएर प्रक्रिया पुरा नभएको खण्डमा व्यवसाय बन्द गरिने समेत जानकारी गराईएको थियो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल, जिल्ला स्वास्थ्य कार्यालय बागलुङका जनस्वास्थ्य निरीक्षक लक्ष्मि शर्मा, धौलागिरी अस्पतालका काउन्सिलर डाक्टर प्रभातसिंह राजपुत, गलकोट नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मिरा शर्मा, गलकोट नगरपालिकाका कर्मचारी, पत्रकार, प्रहरी लगायतको सहभागिता रहेको थियो ।
Download: गलकोट नगरपालिकामा सञ्चालित स्वास्थ्य संस्थाहरुको अनुगमन
69
