बागलुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषित
बागलुङ २०८० आषाढ १८ सोमबार
बागलुङ जिल्लालाई जिल्ला खोप समन्वय समितिले पूर्ण खोप सुनिश्चित भएको जिल्लाको रुपमा घोषणा गरेको छ । जन्मेदेखि ५ वर्षसम्मका सबै बालबालिकाले आवश्यक पर्ने सबै खोप पाएको निश्चित भएपछि सोमबार बागलुङलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो ।
तोकिएको उमेर समूहका १० हजार ३ सय १८ बालबालिकाले सबै प्रकारका खोप पाएको र नवजात शिशुले पनि खोप पाउन थालेकोले दिगोपनको समेत घोषणा भएको हो । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव विनोद बिन्दु शर्माले घोषणासभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सबै बालबालिकाले खोप पाएको सुनिश्चित भएको बताए ।
गोरखा जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरेपछि प्रदेशलाई पनि खोप सुनिश्चित घोषणा गर्ने तयारी गरेको उनले बताए । उनले गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउन पहल भएको समेत बताए ।
यससँगै सबै खोपको सुनिश्चित हुनेमा नेपालभर गण्डकी प्रदेश पहिलो प्रदेश हुनेछ । भौगोलिक कठिनाइ भए पनि गण्डकीका सबै पालिका र वडा तहका स्वास्थ्य चौकीले पनि अभियानमा अगुवाइ गरेको दाबी गरे ।
नेपाल सरकारले २०३४ सालमा बिफर उन्मुलन गरेपछि बालमृत्युदर घटेको स्मरण गर्दै उनले अन्य रोगबाट पनि बचाउन धेरै सहज भएको बताए ।
‘अहिले खोप नभैदिएको भए विश्वको जनसंख्या ३ अर्ब पनि हुने थिएन होला,’ शर्माले भने, ‘कोरोनाको खोप समेत समयमै लगाउन पाएका कारण हामी स्वस्थ्य बनेका छौं ।’ जोखिमपूर्ण समयमा काम गरेर नागरिकको ज्यान बचाउने स्वास्थ्यकर्मीप्रति सम्मान गर्नुपर्ने उनले बताए । पछिल्लो समय धनुष्टंकार, पोलियो, जापनिज इन्सेफ्लाइटिस, रुबेला, सिआरएस र हेपाटाइटिस समेतका रोगहरु खोपकै कारण न्यूनिकरण भएको उनले बताए ।
घोषणा सभामा बागलुङका सबै पालिकाका प्रमुख तथा स्वास्थ्य शाखाका प्रमुखसमेत सहभागी भएर संयुक्त रुपमा हस्ताक्षर गरेका थिए । यसअघि असारको पहिलो सातामा १० वटै पालिकाले पालिका स्तरमा पनि घोषणासभा राखेपछि यो अवसर पाइएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए ।
घोषणामा सहयोग गरेको भन्दै गण्डकी प्रदेश खोप समन्वय समितिले जिल्लाका सबै पालिकालाई सम्मानपत्र समेत दिएको छ । महिला स्वास्थ्य स्वयंसेविकासहित सबै स्वास्थ्यकर्मीले घरघरमा पुगेर शतप्रतिशत बालबालिकालाई खोप लगाउन सकेकाले सम्मानपत्र दिइएको हो ।
Download: बागलुङ पूर्ण खोप सुनिश्चित जिल्ला घोषित
71
