सेवालाई डिजिटलाइज्ड गर्दै नारायणस्थान स्वास्थ्य चौकी, बागलुङ
आफ्नो सेवा लाई डिजिटलाइज्ड गर्दै नारायणस्थान स्वास्थ्य चौकी, बागलुङ
नेपालमा आधारभूत प्राथमिक स्वास्थ्य सेवाको पाहुच लाई ग्रामीण जनसमुदाय स्तर सम्म पु¥याउने उद्देश्यले नेपालले सन् १९८९ मा अल्मा आटाको घोषणापत्रलाई आत्मसाथ गर्दै उक्त घोषणा पत्र अनुसार सन् २००० सम्ममा सबैका लागि स्वास्थ्य भन्ने अवधारणालाई लागू गर्दै वि.सं. २०४८ सालको परिवर्तन संगैको संविधानले किटान गरेबमोजिम प्रत्येक निर्वाचन क्षेत्रमा १÷१ वटा प्राथमिक स्वास्थ्य सेवा केन्द्रहरुको विस्तार अभियान शुरु गरेको थियो । उक्त अभियानलाई अझ विस्तार गर्दै ३ देखि ५ वटा गा.वि.स.बीचको पायक पर्ने ठाउँमा इलाका स्वास्थ्य चौकी र प्रत्येक गा.वि.स.मा १÷१ वटा उपस्वास्थ्य चौकीहरु स्थापना भए । हाल सबै उपस्वास्थ्य चौकीहरुलाई स्तरवृद्धि गरी सबै वडाहरुमा (साविकका गा.वि.स) १÷१ वटा स्वास्थ्य चौकीबाट जनतालाई आधारभूत प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको छ ।
चारदशक लामो इतिहास बोकेको यो अवधारणालाई समयानुकूल फेरबदल गर्दै यसलाई अझ प्रभावकारी र जनसेवामुखी उच्चस्तरको स्वास्थ्यसेवा उपलब्धगराउन स्थानीय स्वास्थ्य संस्थाहरुको सेवालाई थप गर्दै लैजानु आज राज्यको दायित्व हो । एउटा वडाको समग्र स्वास्थ्य क्षेत्रको राम्रो व्यवस्थापन र सुधार ल्याउनका लागि ६ देखि ८ जना स्वास्थ्यकर्मी र डाक्टरहरु पर्याप्त हुन्छ । राज्यले मात्र स्वास्थ्य क्षेत्रलाई समयानुकूल आधुनिकीकरण गर्न जरुरी छ । संसारमा Web Technology यति विकास भएको छ उक्त Technology लाई अवसरका रुपमा ग्रहण गर्दै वडाका प्रत्येक नागरिकको व्यक्तिगत स्वास्थ्य अवस्थालाई Tracking गर्न सफ्टवयर प्रणाली प्रयोगमा ल्याउनु आजको आवश्यकता हो । विगत पांच वर्षको अथक प्रयासमा अब भने बागलुङ नगरपालिका १४ अन्तर्गत नारायणस्थान स्वास्थ्य चौकीले वडा स्तरिय आफ्नै बेव बेस परिवारिक स्वास्थ्य प्रोफाई तयार गरी कार्यन्वयनमा ल्याउँदै छ ! वडाका प्रत्येक व्यक्तिको स्वास्थ्य सम्बन्धि व्यक्तिगत विवरण राख्ने गर्भवती, सुत्केरी, खोप, पोषण, परिवार नियोजन, नसर्ने रोग (NCD), स्वास्थ्य बिमा, हालको बसाईको विवरण, कन्ट्याक नः लगाएतका विवरण अध्यावधिक गरि आफुलाई चाहिएको विवरण प्राप्त गर्न सकिने छः साथै गर्भवती महिलाहरु र खोप लगाउने बाल बालिकाहरु लाई प्रोटोकल अनुसार जाँचका लागी Software मार्फत आफै मेसेज जाने व्यवस्था पनि यस Software मा रहेको छ !
के हो WHP सफ्टवेयर ?
बागलुङ जिल्लाको बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानको आर्थिक सहयोग र नारायणस्थान स्वास्थ्य चौकी व्यवस्थापन समितिको प्रयासमा २०७५ साल मा निर्माण गरि तात्कालिन नगर प्रमुख श्री जनकराज पौडेल ज्यूबाट उदघाटन गरि शुरु गरिएको प्रोफाइले यो वर्ष पुर्णता पाएको छ। समग्र वडाका प्रत्येक नागरिकको स्वास्थ्य अवस्थाको जानकारी राख्न र Tracking प्रणाली मार्फत स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि निर्मित Health Profile (WHP) अर्थात् बेव वेस्ड परिवारिक स्वास्थ्य प्रोफाइललाई नै WHP सफ्टवयर भनिएको हो । यस प्रोफाइल लाई अब आउने नया वर्ष बाट कार्यान्वयनमा ल्याउने तयारीका साथ काम अघि बढेको छ।
किन आवश्यक छ वडामा WHP ससफ्टवेयर ?
हाल नेपालमा ६६८४ वटा वडाहरु रहेका छन् । सरकारले आवश्यक पर्ने वडाहरुमा १÷१ वटा स्वास्थ्य चौकीहरु निर्माण गरी उक्त वडाको स्वास्थ्य सुधारका लागि पाँचजना प्राविधिक स्वास्थ्य कर्मी र १ जना कार्यालय सहयोगीको व्यवस्थापन गरी उक्त वडाको समग्र स्वास्थ्य अवस्थाको सुधार गर्ने जिम्मा स्वास्थ्यकर्मीहरुलाई दिएको छ र स्वास्थ्यकर्मीहरुले आफ्नो काम कर्तव्य र उत्तरदायित्व अनुसार जिम्मेवारी पूरा गर्दै पनि आउनु भएको छ । तर अधिकांश जनताहरु स्वास्थ्य चौकिको सेवा बाट सन्तुष्ट भने छैनन। प्रश्न स्वास्थ्यकर्मीहरुले काम नगरेको भन्ने होइन, अब आधुनिक प्रविधिको भरपुर प्रयोग गर्दै सरल र सहज तरिकाले स्वास्थ्य सेवा उपलब्ध गराउने कि भन्ने मात्र हो । वडाका प्रत्येक नागरिकहरुको परिवर्तित स्वास्थ्य अवस्थाको जानकारी मासिकरुपमा तोकिएको परीक्षण सूचिमा स्वयम्सेविकाहरुले आफ्नो स्वास्थ्य आमा समूह र समुदायबाट मासिक रुपमा स्वास्थ्य चौकीलाई उपलब्ध गराउनु हुन्छ । साथै स्वास्थ्य चौकीको OPD मा तथा विभिन्न अन्य स्वास्थ्य समस्या लिएर आउने विरामीहरुबाट आवश्यक सूचनाहरु एकीकृत गर्ने र सफ्टवयरमा अपडेट गर्ने परिपार्टीको व्यवस्था गरिएको हुन्छ । पछि तिनै अपडेट स्वास्थ्यका सूचनाहरुलाई एकी कृतरुपमा वर्गीकृत गरी सफ्टवयरले स्वास्थ्य सेवा दिनुपर्ने लक्षित समूहका बर्गिकृत गर्दछ र त्यही बर्गिकृत गरिएको समूहलाई ट्रयाकिङ गरी स्वास्थ्य सेवा उपलब्ध गराउनु नै WHP सफ्टवयरको आवश्यकता हो । जस्तै वडामा बसोबास गर्ने कुनै नागरिक कुनै कारणले सेवाको पहुँचमा आउन सकेको छैन, छुटेको छ वा बञ्चितमा परेको छ तर त्यो नागरिकलाई स्वास्थ्य समस्या पनि छ र दीर्घकालिन रुपमा स्वयम् व्यक्ति तथा समुदायलाई समेत प्रभाव पार्दछ भने उक्त नागरिकलाई ट्रयाकिङ गरी स्वास्थ्य संस्थामा आउने वातावरण सिर्जना गर्ने काम सफ्टवयरले गर्दछ । उदाहरणका लागि खोप, परिवार नियोजन, सुरक्षित मातृत्वतर्फ गर्भवती, सुत्केरी, पोषण रोगहरुतर्फ उच्च रक्तचाप, मधुमेह, थाइराइड, क्षयरोग, एच.आइ.भी., कुष्टरोग, मृर्गौला, कलेजो तथा मुटुरोग आदिजस्ता दीर्घकालिन रुपमा स्वयम् व्यक्ति वा समुदायलाई समेत प्रभाव पार्ने दीर्घरोगीहरुलाई समयमा नै निदान गरी जोखिम न्यूनिकरण गर्ने तथा जनसंख्याको अद्यावधि गर्नु यस सफ्टवयरको मुख्य काम हो ।
WHP सफ्टवेयरका फाइदाहरु:
१. WHP सफ्टवेयर मार्फत वडाको प्रत्येक महिनामा जनसंख्याको अद्यावधि गर्न सकिन्छ जुन पञ्जिकरणलाई समेत उपयोगी हुन्छ । जन्म, मृत्यु, स्थायी तथा अस्थायी बसाइसराइ, विवाह आदिको तथ्याङ्क प्राप्त गर्न सकिन्छ ।
२. सेवाको पहुँचमा नपुगेका, छुटेका वा बञ्चितमा परेका लक्षित समूहहरुलाई ट्रयाकिङ गरी सेवामा ल्याउन सकिन्छ । उदाहरणका लागि खोप, परिवार नियोजन, पोषण, गर्भवती, सुत्केरी, सर्ने तथा नसर्ने रोगहरु जस्तै क्षयरोग, कुष्टरोग, एच.आइ.भी., उच्चरक्तचाप, मधुमेह, थाइराइड, क्यान्सर, मृर्गौला रोग, मुटुरोग, कलेजो तथा फेक्सोको रोग आदि रोगहरुलाई सहजै ट्रयाकिङ गरी सेवामा ल्याई जोखिम न्यूनिकरण गर्न सकिन्छ ।
३. स्वास्थ्य संस्थाबाट दिइने स्वास्थ्य सेवालाई बढी प्रभावकारी र विश्वसनीय बनाउन सकिन्छ ।
४. समुदाय र स्वास्थ्य संस्थाबीचको दुरी न्यूनिकरण गर्दै आत्मीय सम्बन्ध कायम गर्न सकिन्छ ।
५. नेपालको वर्तमानको ठूलो स्वास्थ्य समस्या अन्तर्गतको नसर्ने रोगहरुलाई नियन्त्रणमा ल्याउन महत्वपूर्ण भूमिका खेल्दछ ।
६. वडामा वर्गीकृत विभिन्न स्वास्थ्य समस्या भएका समूहहरुलाई एक क्लिकमा हेर्न र छुट्याउन सकिन्छ ।
७. नेपाल भित्र वा विश्वको जुनसुकै देशमा रहेका उक्त वडाका स्थायी नागरिक र हाल उक्त वडामा बसोबास गरिरहेका नागरिकको वास्तविक जनसंख्या पत्ता लगाउन सकिन्छ ।
८. विभिन्न स्थानीय तथा राष्ट्रिय स्वास्थ्यका कार्यक्रमहरु सञ्चालन गर्न वास्तविक जनसंख्याले सहयोग गर्दछ ।
९. देशका सबै वडाहरुमा WHP सफ्टवेयर कार्यक्रम लागू गर्न सके यथार्थ जनसंख्यालाई आधार बनाई विभिन्न स्वास्थ्यका योजना नीति निर्माण गर्न सकिन्छ ।
१०. विभिन्न रोगहरुको विरामी दरका आधारमा नीति निर्माण, योजना तथा औषधिको माग पत्ता लगाउन सहज हुनुका साथै आपूर्ति व्यवस्थापनलाई समेत बढी विश्वसनीय र भरपर्दो बनाउन सकिन्छ आदि ।
Download: सेवालाई डिजिटलाइज्ड गर्दै नारायणस्थान स्वास्थ्य चौकी, बागलुङ
94
